पासपोर्ट छुटेपछि शान्ति सेना सेनाको जहाज काठमाडौं फर्कियो
पासपोर्टलगायत महत्वपूर्ण कागजात छुटेपछि सुडान पुगेका २३२ जना रहेको शान्ति सेनाको टोली सुडान पुगेर पुनः नेपाल फर्केको छ। पासपोर्टबिनै पुगेको टोलीलाई सुडानस्थित अध्यागमन विभागले ‘इन्ट्री’ नदिएपछि टोली फेरि नेपाल फर्किएको हो।
मंगलबार दिउँसो नेपाली सेनाका मेजरको कमाण्डमा गएको विभिन्न दर्जाको शान्ति सेनाको टोली काठमाडौं विमानस्थलबाट उडेको थियो। ‘इन्ट्री’ नपाएपछि राति नै जहाज टोली लिएर फर्केको सैनिक मुख्यालयले जनाएको छ।
छुटेको पासपोर्ट लिएर राति नै जहाज फेरि टोलीसाथ सुडान गएको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले बताए। ‘सुडान पुगेपछि हाम्रो शान्ति सेनाको टोलीलाई त्यहाँको अध्यागमन विभागले कागजात छुटेको भनेर इन्ट्री दिएन,’ कार्कीले सेतोपाटीसँग भने, ‘सुरक्षा संवेदनशीलतालाई ख्याल राखेर टोली फर्केर छुटेको सबै कागजात लिएर सुडान उडेको हो।’
मुख्यालयले कसरी कागजातहरु छुट्यो भन्ने विषयमा गम्भीर बन्दै छानविन गर्ने भएको छ। प्रधान सेनापति राजेन्द्र क्षत्रीले उक्त विषयमा छानविन गर्न बुधबारै निर्देशन दिएका छन्। ‘असावधानीले यस्तो भएको भन्ने हाम्रो ठहर छ,’ कार्कीले भने, ‘कसरी यस्तो भयो छानविन भइरहेको छ।’
मुख्यालय स्रोतका अनुसार सुडानबाट जहाज शान्ति सेना लिन काठमाडौं अाएको थियो। सबैको कागजात छुटेको र छुटेको कागजात लिन सबै फर्केको मुख्यालयले जनाएको छ। युएन मिसनमा जाने शान्ति सेनालाई इथियोपियन एयरलाइन्सको जहाज प्रयोग हुने गरेको छ। काठमाडौंबाट सुडान पुग्न झन्डै १२ घन्टा लाग्ने जनाइएको छ।

0 comments
Write Down Your Responses